जेठ ४ ,काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यसमितिमा रहेका शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ ।
केन्द्रले बुधबार सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार राजनीतिक दलको कार्यसमितिका रहेका र महाधिवेशन प्रतिनिधि रहेका शिक्षक कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भन्दै १५ दिनभित्र विवरण पेश गर्न भनेको हो ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ वैशाखमा दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायमा पत्राचार गरेको थियो । त्यसपछि २८ वैशाखमा उक्त निर्णय कार्यान्वयनको प्रगतिबारे विवरण माग गरेको थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रालयको ती दुई पत्र उधृत गर्दै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइबाट १५ दिनभित्र विवरण माग गरेको हो ।