वैशाख १८ ,ईलाम । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक सीप एमालेसँग मात्र भएको बताउनुभएको छ । देशलाई समृद्ध बनाउन सक्ने शक्ति एमालेसँग भएकाले अर्थनीति, सुशासनको नीति, विकासको नीतिजस्ता हरेक क्षेत्रका नीति एमालेसँग रहेको दाबी गर्नुभयो ।
इलाममा आयोजित निर्वाचन विजयी सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “एमाले सय वर्षको हुँदासम्म हरेक क्षेत्रमा नेपाल समृद्ध भइसक्छ । एमालेको नेतृत्वमा नै देशको विकास हुन्छ” उहाँले भन्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले पहिचानको मुद्दा उठिरहेको सन्दर्भमा हाम्रो पहिलो पहिचान नेपाली भएको बताउनुभयो । “पहिलो पहिचान नेपाली हो । धनी भए धनी नेपाली, गरिब भए गरिब नेपाली, व्यक्तिगत पहिचानले कोही सफल हुँदैन” उहाँले भन्नुभयो “पहिला पनि मेची, कोशी अञ्चल हुँदा त्यसरी नै त बाँडिएको थियो । यो ठुलो कुरा होइन, साझा नाम राख्दा केही बिग्रँदैन ।
एउटा जात र व्यक्तिको पहिचानले सबै समेटिँदैन । बहुजाती बहुभाषिक नेपाली हौँ, एकअर्काको भाषा, संस्कृति, जातिलाई सम्मान गरौँ, त्यो पहिचान हो ।” अध्यक्ष ओलीले चुनावअघि इलामको विकासको जिम्मा लिने प्रतिबद्धता जनाएको आफूलाई स्मरण रहेको र त्यो पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
‘त्यो देश विकासका लागि बोलेको कुरा हो । त्यसका लागि काम सुरु गर्छु’ उहाँले भन्नुभयो, “४८ सालको विजयी सभामा मैले भनेको थिएँ । त्यही कुरा सुहाङले बाचा गर्नुभयो इलामेली जनताको शिर झुक्न दिने छैन । सुहाङको पछाडि एमाले छ, म छु ।”