वैशाख १६, इलाम । इलाम निर्वाचन क्षेत्र २ को मतगणना आज ११ बजेदेखि हुनेभएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइ पुगेकाे र सर्वदलिय बैठकको निर्णय बसेर मतगणना ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मतदान केन्द्रको मतपेटीका आइ पुगेकाे छ । मतपेटीका आएर मतपेटिका रुजु गर्न समय लाग्ने भएपछि गणनाको काम बिहान मात्र सुरु गर्ने अधिकृत घिमिरेले जानकारी दिनुभयो । मतगणना गर्नेस्थल गौतमबुद्ध सभागृहमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । मतगणना स्थलमा तारबेरा गरी सीसीटिभी जडान गरिएको छ ।
इलाममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । इलाम २ का ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्रलाई संबेदनशील मानिए पनि शनिबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६९ हजार दुई सय ८७ (५९ दशमलब ७९ प्रतिशत) मत खसेको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।