spot_img

नागरिकता प्रमाणपत्र जारी सिफारिस अब अनलाइन मार्फत हुने

चैत १५, गैँडाकोट । नयाँ नेपाली नागरिकता प्रमाणपत्र जारी गर्नका लागि स्थानीय तहले दिने सिफारिस अब अनलाइन मार्फत हुने भएको छ । देशभरका ७५३ पालिकामध्ये गैँडाकोटबाट यो प्रणाली सुरु भएको हो । बिहीबारदेखि केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सि सि आइ एम एस) को शुभारम्भ गैँडाकोटबाट गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको समुपस्थितिमा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले सिफारिस पत्रको प्रमाणित प्रतिलिपि सिसिआइएमएसको अनलाइन प्रणालीमा अपलोड गर्दै शुभारम्भ गर्नुभएको छ । यस प्रणालीको सुरुवात भएपछि सेवा प्रवाह छिटो हुने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार झुटा र किर्ते विवरण भरेर नागरिकता लिने  कार्यको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले यस अनलाइन प्रणालीले नागरिकलाई सहजता प्रदान गर्ने बताउनुभयो । हाललाई नयाँ नागरिकताको मात्र सिफारिस भएपनि आगामी दिनमा राष्ट्रिय परिचय पत्र तथा अन्य परिचयपत्र निर्माणमा यस प्रणालीले सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले बठ्याईं गरी दोहोरो नागरिकता लिने प्रवृत्तिको यस प्रणालीले अन्त्य गर्ने भएकाले पनि यो प्रणाली उपयोगी रहेको बताउनुभयो । गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले कार्यक्रममा स्वागत गर्दै वडाकार्यालयको सेवा प्रवाहलाई यसले थप चुस्त पार्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले नागरिकताको सिफारिसका लागि गैँडाकोटका सबै वडाबाट अनलाइन मार्फत सिफारिस हुने प्रणालीको तयारी सकिएको बताउनुभयो ।

नेपाली नागरिकता वितरण सम्बन्धि कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यले स्थानीय तहहरुबाट केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीको प्रयोग गरि अनलाइन प्रणाली मार्फत स्थानीय तह वा वडा कार्यालयहरुले सम्बन्धित जिल्ला प्रशासन, इलाका प्रशासन र सीमा प्रशासन कार्यालयलाई नयाँ नेपाली नागरिकता प्रमाणपत्र जारी गर्न सिफारिस गर्ने व्यवस्था कार्यान्वयन गर्न गृहमन्त्रालयले गैँडाकोट नगरपालिकाबाट सुरुवात गरेको हो । यस जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाबाट छिट्टै यो प्रणालीको शुभारम्भ हुने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।

अनलाइन मार्फत हुने सिफारिसका लागि बुवाको नागरिकता, आमाको नागरिकता, जन्मदर्ता प्रमाणपत्र, विवाहितको हकमा श्रीमानको नागरिकता, बुवाआमाको विवाहको प्रमाणपत्र, अनुसूचि फारम, बसाई सराई, शैक्षिक प्रमाणपत्र, प्रहरी सर्जमिन मुचुल्का लगायतको कागजपत्र आवश्यक हुने गैँडाकोट नगरपालिकाका सूचना प्रविधि अधिकृत इन्जिनियर बिनोद न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार