spot_img

Tuesday, September 10, 2024

अहिले हिन्दू राज्य घोषणा गर्ने रे भनेर ल्याएका नाराहरुको कुनै तुक छैन- प्रधानमन्त्री पुष्पकमल दाहाल

 मङ्सिर १८ काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “विश्वले नै अपनाएको र नेपालमा पनि नेपाली जनताले छानेको व्यवस्था नै लोकतन्त्रिक गणतन्त्र हो, यसको अर्को कुनै पनि विकल्प छैन ।”

प्रधानमन्त्री दाहालले पछिल्लो समयमा संविधान, लोकतन्त्र र गणतन्त्रमाथि नै प्रश्न उठाउने गरिएको पाइएको प्रसङ्ग उल्लेख गर्दै यस्ता स्वरहरुको कुनै तुक र आधार नभएको र तिनको व्यवस्थापन गरी गणतन्त्रको जग बलियो बनाउने विषयमा सरकार र गणतन्त्र पक्षधर राजनीतिक दलहरु एकमत रहेको बताउनुभयो ।

यसै प्रसङ्गमा प्रधानमन्त्रीले भन्नुभयो, “पूर्व राजावादीहरुका नाममा अलि बढी नै चलखेल गर्न खोजेको देखिएको छ । नेपाली जनताको बलिदानीबाट प्राप्त भएको वर्तमान संविधानको विरुद्धमा जाने छुट कसैलाई पनि छैन । यदि यसको विरुद्धमा कोही जान खोज्छ भने तिनीहरुलाई कसरी ‘ट्याकल’ गर्ने भन्ने बारेमा नेपालमा गणतन्त्र ल्याउन लागिपरेका सबै राजनीतिक दलहरुले आवश्यक रणनीति बनाएरै बसेका छौँ ।”

धर्मका बारेमा पछिल्लो समयमा भएका गतिविधिहरु पनि सरकारको सूचनामा रहेको उल्लेख गर्दै यस विषयमा पनि संविधानमा लेखिएभन्दा यता उता नहुने उहाँले स्पष्ट गर्नुभयो ।

हरेक नेपाली नागरिकको सनातनदेखि चल्दै आएको धर्म र संस्कृतिको संरक्षण गर्ने तथा राज्य आफैँ धर्म निरपेक्ष रहने विषय स्पष्ट रुपमा संविधानमा व्यवस्था भएकाले सरकार यसबाट कुनै तलमाथि नहुने उहाँले स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “यस विषयमा नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पनि संविधानमा लेखिएको विषयमा नै प्रतिबद्ध छन् र सरकार पनि स्पष्ट छ । वास्तवमा कुरा के हो भने अहिले आएर धर्मलाई संविधानबाट चलाइयो भने त्यहाँ गणतन्त्र पनि चल्छ र त्यसपछि फेरि राजतन्त्रका बारेमा अनेक थरी कुरा हुन सक्छन् भन्ने बारेमा गणतन्त्रका पक्षधर सबै राजनीतिक दलहरु पनि स्पष्ट नै छन् । त्यसैले अहिले हिन्दू राज्य घोषणा गर्ने रे भनेर ल्याएका नाराहरुको कुनै तुक छैन ।”

प्रधानमन्त्री दाहालले विश्वले नै अपनाएको लोकतान्त्रिक गणतन्त्र वैज्ञानिक र अग्रगामी शासन व्यवस्था भएकाले अहिले आएर यसको विकल्प खोज्नु सर्वथा गलत हुने बताउँदै कुनै तत्वले यसको विकल्प खोज्दैमा सम्भव नहुने बताउनुभयो ।

गोरखापत्र

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार